दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

उर्लाबारी नगर परिचयः

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिकालाई नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३।११।२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो । मोरङ जिल्लाकै नमूना नगरको रुपमा परिचिति हुन उन्मुख रहेको यस नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँ पालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ । यस नगरमा करिव ७०,६०५ जनसंख्या मध्ये ५१.१३ प्रतिशत महिला र ४८.८७ प्रतिशत पुरुष सहित १३७६१ घरधुरी रहेको पाइन्छ । अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ । सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको मान्न सकिन्छ । उर्लाबारी चौकदेखि उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो एवं दक्षिणतर्फ सिधा सदरमुकाम पुग्ने बैकल्पिक सडक भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ । बेतिनी सिमसार, बुढा ठाकुर, लामपाते सिमसार हुनु र यसको प्रबद्र्धनमा नगरपालिका र स्थानीय स्तरमा भएको प्रयासले उर्लाबारी नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ ।